बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुपर्ने बताएका छन् । राजनीतिक जटिलता अन्त्यका लागि निर्वाचनको विकल्प नभएको पनि उनले बताए । विराटनगरस्थित आफ्नै निवासमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले सर्वोच्च अदालतको आदेशले नेकपालाई नेकपा एमाले र माओवादी केन्द्रमा विभाजन गरिसकेकाले ओलीले प्रधानमन्त्रीको रुपमा संसद्बाट विश्वासको मत लिनुपर्ने बताए । ‘प्रधानमन्त्रीज्यूलाई विश्वासको मतका लागि नेकपा एमाले र माओवादी केन्द्र एक ठाउँ हुनु पर्यो वा कांग्रेस र जसपालाई मिलाउन सक्नु पर्यो होइन भने सरकार गठन हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘असंवैधानिक कदमको विरोधमा उत्रेका दलहरु नेकपा एमालेसँग सरकारमा जाने नैतिक संकट रहेकाले निर्वाचनको विकल्प छैन ।’ ‘एकातिर पुन:स्थापित संसद्को पहिलो दिनकै बैठकको अवस्थाले संसद् चल्न सक्ने अवस्था देख्दिनँ भने अर्कोतिर सरकार पनि गठन हुने अवस्था जटिलै छ,’ उनले भने । सर्वोच्च अदालतको आदेशले दुई तिहाइको नेकपाको अवस्था हेर्दा मुलुकमा राजनीतिक दलकै सान्दर्भिकतामाथि प्रश्न चिह्न लागिसकेकाले पनि निर्वाचनमा जानुको विकल्प नभएको कोइरालाको भनाइ थियो । ‘यसअघि संविधान जोगाउन प्रतिनिधिसभा पुन:स्थापना भनिरहेका थियौं त्यसैले असंवैधानिक चुनावको विपक्षमा थियौं,’ उनले भने, ‘तर अहिलेको जटिल परिस्थितिबाट पार पाउनका लागि संवैधानिक चुनावमा जानु पर्छ ।’ अर्कोतिर माधव नेपाल समूहलाई सर्वोच्चले एमाले नै भनिदिएको अवस्थामा कि त ४० प्रतिशत सांसदसहित पार्टी फुटाउनु पर्यो या निर्वाचनमा जानुको विकल्प नभएको कोइरालाले सुनाए । ‘कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको बाटो भएको तर एक्लैले सरकार गठन गर्न नसक्ने हुँदा नेकपा एमाले वा माओवादी केन्द्र र जसपासँग मिल्नैपर्छ,’ उनले भने, ‘तर त्यो परिस्थिति अहिले देखिँदैन । त्यसैले सबै मिलेर निर्वाचनमा जानुको विकल्प छैन ।’ कांग्रेसले भदौ अगावै जेठ असारसम्ममा महाधिवेशन गरेर निर्वाचनको तयारीमा जट्नु पर्ने कोइरालाको भनाइ छ ।