काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ।
कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई बुधबार १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्न घुस माग गरेका थिए। सोही घुस लिन ढकालले कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई पठाएका थिए।
अख्तियारले घुस माग गरेको भन्ने सूचना पाएपछि बर्दिबासबाट खटिएको टोलीले नविनकुमार कर्णलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको हो।
उनलाई टोलीले जनकपुर उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एन्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।