काठमाडौं । आफ्नै सहकर्मी महिलालाई यौन दुर्ववहार गरेको पुष्टि भएपछी नेपाली सेनाका एक जना सहायक रथीलाई बर्खास्त गरिएको छ । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक स्रोतले जनाएको छ । यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले गरेको अनुसन्धानबाट कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि उनलाई सेवाबाट बर्खास्त गरेको हो । कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको थियो ।