सिरहा । लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कोठाको प्लाई छेउमा कुकर बम जस्तो देखिने शंकास्पद बिष्फोटक पदार्थ आइतबार दिउँसो पड्किँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सिरहा धनगढीमाइ नगरपालिका(४ बस्ने ३० वर्षीय दिनेश कुमार भण्डारी, विष्णुपुर गाउँपालिका–३ बस्ने मालपोत कार्यालयका नायव सुब्बा ३८ वर्षीय शिव कुमार यादव, गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीया लक्ष्मी राणा, सोही ठाउँ बस्ने ३५ वर्षीया बेचनी मगर, लहान नगरपालिका–१६ बस्ने ५२ वर्षीय लाल बहादुर विक, गलबजार नगरपालिका–४ बस्ने ३८ वर्षीया फुल कुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ बस्ने ५४ वर्षीय बद्री नारायण यादव र धनगढीमाई नगरपालिका–१३ बस्ने ८२ वर्षीय भोला बहादुर पाचे मगर रहेका छन् ।
घाइतेहरुमध्ये भोला बहादुर पाचे मगरको सप्तऋषि अस्पताल लहानमा तथा लक्ष्मी राणा, बेचनी मगर, लाल बहादुर विक, फुल कुमारी ठाकुर र बद्री नारायण यादवको राउ स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ ।
दिनेश कुमार भण्डारीलाई सप्तऋषि अस्पताल लहानमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएको छ भने नायव सुब्बा शिव कुमार यादवलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारका लागि विराटनगर नोबेल अस्पताल रिफर गरिएको छ ।
घाइतेहरुमध्ये दिनेश कुमारको अवस्था गम्भीर तथा लाल बहादुर विक, फुल कुमारी ठाकुर र बद्री नारायण यादवको अवस्थामा मध्यम रहेको छ भने अन्यको सामान्य रहेको छ ।
उक्त स्थानमा शंकास्पद वस्तु पड्केको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक समेत र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घाइतेहरुलाई तत्काल उद्दार गरी उपचारका लागि अस्पताल लैजानुको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।