Logo

बुधवार, श्रावण २७ गते २०८३

images

थप १० लाख डोज खोप आउन ढिलाइ

थप १० लाख डोज खोप आउन ढिलाइ

दैनिकी न्यूज

२, चैत्र २०७७
थप १० लाख डोज खोप आउन ढिलाइ
images

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।

यद्यपि सेरम इन्स्टिच्युटले गत ९ फागुनमा १० लाख डोज खोप उपलब्ध गराएको थियो । पहिलो चरणको खोप प्राप्त भएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भनिए पनि सेरमले अहिलेसम्म खोप उपलब्ध नगराएपछि समस्या देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत ५ फागुनमा अग्रिम भुक्तानी गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ । स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारत सरकारको अनुदान सहयोगमा नेपाललाई दिएको १० लाख खोपमध्ये पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई खोप लगाइएको छ । मन्त्रालयसँग ५ लाख ६१ हजार १ सय २१ डोज खोप बाँकी थियो ।

लगत्तै सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरेको थियो । हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपालमा भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारसम्ममा १३ लाख ४८ हजार ८८ जनाले खोप लगाइसकेका छन् ।

जोखिमका आधारमा ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब ८ लाख डोज खोप मात्रै बाँकी छ ।

खोप अभियानअन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा २०७८ वैशाख ७ देखि १५ भित्र लगाउने प्रस्तावित योजना बनाइएको छ । तर, अहिलेसम्म कहिले खोप आउने निश्चित छैन । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताएको छ ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीले अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने बताए । अझै तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक, १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - ०६:००:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology