काठमाडौं । एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ ।
छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरसका बिरामीहरू बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको हो । खुला सिमानाका कारण आवतजावत बढिरहेको र संक्रमण फेरि बढ्न सक्ने आकलन गर्दै कोभिड संक्रमणको जोखिमविरुद्ध लड्न सरकारी संयन्त्रहरूले रणनीति तय गर्न थालेका छन् ।
उनीहरूले तय गरेको प्रारम्भिक रणनीतिमा खासगरी भीडभाडका गतिविधि नियन्त्रण गर्ने, जोखिम कम गर्न क्वारेन्टाइन र आइसोलेशनलाई तयारी अवस्थामा राख्ने, सीमानाकामा सतर्कता बढाउनेदेखि परिस्थिति हेरेर बन्दाबन्दी गर्नेसम्मको छ ।
गृह मन्त्रालयका अनुसार देशभर भीडभाडका गतिविधि हुन नदिन प्रशासनलाई परिपत्र भइसकेको छ । त्यस्तै क्वारेन्टाइन र आइसोलेशन सेन्टरलाई समेत तयारी अवस्थामा राख्न थालिएको छ ।
संक्रमण बढिरहेको बेला फेरि क्वारेन्टाइन र आइसोलेशन आवश्यक पर्न सक्ने आकलन गर्दै अहिले विवरण संकलनको काम शुरू भइसकेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउँछन् । ‘७७ ओटै जिल्लाका क्वारेन्टाइन र आइसोलेशन सेन्टरको यकिन विवरण संकलन गर्दै तयारी अवस्थामा राखिँदै छ,’ उनले भने ।
उनका अनुसार गृह मन्त्रालयले बुधवार आफ्ना संयन्त्रहरूलाई परिपत्र गर्दै सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि निर्देशन दिएको छ । बुढाले कोरोना संक्रमण फैलिन सक्ने भएकाले भीडभाड, सभा, जुलुस नगर्न आह्वानसमेत गरेका छन् । यस्ता गतिविधि हुन नदिन प्रशासनलाई निर्देशनसमेत दिइएको उनले बताए ।
गृह मन्त्रालयले आफ्नो रणनीति तय गरिरहँदा भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरू फर्किन थालेका छन् ।
भारतबाट स्वदेश फर्किने नेपालीहरू फर्किंदा सीमा नाकाहरूमा भीडभाड देखिन थालिसकेको छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै दैनिक १ हजारको हाराहारीमा नेपाली भित्रिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
‘यी दुई नाकाबाट विगत १० दिनमा ८ हजारभन्दा बढी भित्रिएको अनुमान छ,’ डीएसपी अमरबहादुर थापाले भने ।
भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षणको काम कतिपय ठाउँमा शुरू नै नभएको र कतिपयमा ढिला गरी थालिएको सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको गति रोक्न बन्दाबन्दी गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेको छ ।
बुधवार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मानिसहरूको अनावश्यक भीडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दूरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।
‘बन्दाबन्दी गर्नु नेपाल सरकारको उद्देश्य होइन, तर सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रूपमा फैलिन नदिन सजग हुनुपर्छ,’ उनले भने । आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भीडभाड नगर्न समेत अधिकारीले आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधवार दिएको जानकारीअनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमूना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको छ । यसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।
यस्तै, दोस्रो चरणको कोभिड संक्रमण महामारीका रूपमा आउन सक्ने खतरालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रूपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउनसमेत भनेको छ ।
यो खबर आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।