Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरकारले भन्यो, ढुक्क हुनु लकडाउन हुँदैन

सरकारले भन्यो, ढुक्क हुनु लकडाउन हुँदैन

दैनिकी न्यूज

१२, चैत्र २०७७
सरकारले भन्यो, ढुक्क हुनु लकडाउन हुँदैन
images

काठमाडौं । सरकारले तत्काल लकडाउन नगर्ने प्रस्ट पारेको छ । कोरोना संक्रमण बढ्न थालेको भन्दै लकडाउन हुनसक्ने हल्ला चलेपछि सरकारले लकडाउन नगर्ने जनाएको हो । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि तत्काल लकडाउन नहुने बताए । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने उनले बताए । अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताउँदै भने, 'हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।' अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए । कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए । 'हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आईपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनै रहेका छौं । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला,' उनले भने, 'मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं ।' राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । 'अहिले हामी दुई वटा कुरामा केन्द्रीत हुन चाहिरहेका छौं । बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ,' उनले भने, 'राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ । दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ । दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं । आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौं ।'

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २०:३३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology