बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार भएको भीषण आगलागीमा परेर एउटा बस्ती नै सखाप भएको छ । वार्ड नम्बर ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् भने ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो । केटाकेटीहरू गोठमा खेलिरहेको अवस्थामा आगो सल्किएर घरसम्म पुगेको स्थानीय चादे खाँले बताए । फुसको छानो भएकोले बस्ती नै सखापै बनाएको उनको भनाइ छ । यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ ।