काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विभिन्न १४ जिल्लामा शैक्षिक संस्था लगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गरेका हुन्।
मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाको नामसमेत सार्वजनिक गरेको छ। काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ। मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।
सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ।
मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेखित जिल्लाहरुमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ।
‘विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागी नभइदिनहुन। तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिन हुन’ सूचनामा भनिएको छ।