Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनीमा जसपाका ४ सांसद कारवाहीमा, सांसद पद गुम्नसक्ने !

लुम्बिनीमा जसपाका ४ सांसद कारवाहीमा, सांसद पद गुम्नसक्ने !

दैनिकी न्यूज

७, बैशाख २०७८
लुम्बिनीमा जसपाका ४ सांसद कारवाहीमा, सांसद पद गुम्नसक्ने !
images

बुटवल । जनता समाजवादी पार्टी ( जसपा) ले पार्टी नीति र निर्णयविपरीत चार सांसद मन्त्री भएपछि जसपा लुम्बिनी प्रदेश संसदीय दलले कारबाही प्रक्रिया अघि बढाएको छ । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । लुम्बिनी प्रदेश सरकार र मन्त्रिपरिषद्‌प्रति विश्वास छैन भन्ने जसपाको लुम्बिनी प्रदेश समितिको चैत २६ को बैठक निर्णय र वैशाख ६ गतेको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको निर्णय किन उल्लंघन गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम ह्विप उल्लंघन किन गरेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको उनले बताए । ‘चारैजना मन्त्रीलाई मन्त्रालयको उहाँहरुको टेवुलमा लगेर र इमेलमार्फत पनि स्पष्टीकरण पत्र दिएका छौं,’ उनले भने, ‘तोकिएको समयमा जवाफ आउँछ, आउँदैन त्यसपछि थप कानुनी प्रक्रिया अघि बढ्छ ।’ सोमबार नै सरकार विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसद सन्तोष पाण्डेय, बिजयबहादुर यादव, कल्पना पाण्डे मन्त्री र सुमन शर्मा रायमाझी राज्य मन्त्रीमा नियुक्त भएर शपथ लिएका थिए । कल्पना पाण्डेबाहेक अन्य तीन जना अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद हुन् । चार सांसद मन्त्री बनेपछि जसपा दुई खेमामा विभाजन भएको छ । दुवै खेमाले छुट्टाछुट्टै कारवाही अघि बढाएका छन् । जसपाको लुम्बिनी प्रदेश समिति र रूपन्देही जिल्ला समितिले पनि चारै जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पनि सोमबार नै विज्ञप्ति जारी गर्दै पार्टी निर्णयविपरीत सरकारमा गएको भन्दै २४ घण्टाभित्र मन्त्रीबाट राजीनामा दिएर फिर्ता हुन निर्देशन दिएका थिए । फिर्ता नहुँदासम्म पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै जसपाकै रूपन्देही जिल्ला समितिका अध्यक्ष रामअवतार यादवले पनि विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएका मन्त्रीको कुनै पनि राजनीतिक र सार्वजनिक कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको जिम्मेवारीबाटसमेत हटाइएको विज्ञप्तीमा उल्लेख छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - २२:१७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology