मकवानपुर । बाग्मती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आइतबार बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी) लाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए ।
जोर–बिजोर प्रणाली लागू गर्ने भनी जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई÷बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाए ।
उनका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुवाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ–आफ्नो गन्तव्य स्थानसम्म आवजआवत गर्न अनुमति दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको केही दिनअघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताए ।