काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक साताका लागि निषेधाज्ञा जारी भएको छ।
तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको हो।
कोराना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रूपमा फैलन थालेपछि उपत्यकाका तीन जिल्लाका सिडिओहरुको आज बसेको बैठकले एम्बुलेन्स, बैंक, वित्तिय संस्था, दुरसंचार लगायत अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन चल्न नपाउने निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका सहरी क्षेत्र निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो। त्यसैगरी, दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लामा पनि निषेधाज्ञा लगाउन सिसिएमसीले सुझाएको थियो।
निषेधाज्ञा जारी भएपछि खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल र निजी तथा सार्वजनिक यातायात पनि बन्द हुनेछन्।
त्यस्तै, अब विवाह ब्रतबन्धमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । त्यस्तै, स्वास्थ्य सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउने उनले बताएका छन् ।विदेश जानेहरुका लागि भने अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।
त्यस्तै खानेपानी, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।
त्यस्तै, सरकारी कार्यालयका गाडी पनि सम्बन्धित विभागबाट अनुमति लिएर मात्र सञ्चालन हुन पाउने ज्यबस्था गरिएको उनले बताए । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुख कार्यालयको सिफारिसका आधारमा मात्र सञ्चालन गर्न पाइने व्यबस्था गरेको उनले बताए ।