Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निषेधाज्ञा हुने भएपछि झन्डै पाँच लाखले छोडे उपत्यका

निषेधाज्ञा हुने भएपछि झन्डै पाँच लाखले छोडे उपत्यका

दैनिकी न्यूज

१५, बैशाख २०७८
निषेधाज्ञा हुने भएपछि झन्डै पाँच लाखले छोडे उपत्यका
images

काठमाडौं ।काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।


कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।


गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी दिए ।


देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताए ।
उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

मङ्गलबार लामो दूरीका यात्रुको सङ्ख्या बढी देखिएको छ भने बुधबार छोटो दूरीका यात्रुको चाप बढ्ने अनुमान यातायात व्यवसायीको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् ।
ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एउटै नाकाबाट यति धेरै यात्रु बाहिरिएका हुन् । त्यस्तै, जगातेबाट पनि करिब एक लाख बाहिरिएको अनुमान गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०८:१०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology