काठमाडौं । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकमा कोरोना भाइरस तीब्र गतिमा फैलिएको निष्कर्ष निकालेको छ ।
सीसीएमसीले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्नुपर्ने ठहर गर्दै सरकारलाई सिफारिस गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सीसीएमसीको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । 'कोभिड- १९ को संक्रमणको विषयमा गम्भीरतापूर्वक छलफल गर्यौं । जोखिम एकदम बढ्दै गएको निष्कर्ष निकाल्दै यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छौं ।' सीसीएमसीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र यसलाई थप फैलिनबाट रोक्नका लागि थप कदम चाल्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । 'सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्ने र कटौती गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ,' मन्त्री ज्ञवालीले भने, 'खासगरी अन्तर्राष्ट्रिय उडान, जोखिम भएका मुलुकहरूबाट अहिलेलाई उडान रोक्ने र आन्तरिक उडानहरूलाई पनि कटौती गर्ने र रोक्ने सिफारिस भएको छ ।'
सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । बिहे, व्रतबन्ध, जात्राको विषयमा केही निर्णय गरिएको छैन । तर संक्रमण बढ्न थाले विवाह र त्यसमा हुने भोज भतेर रोक्ने तयारी छ । अहिले विवाहको लागि १५ जनासम्म सहभागी हुन पाउछन् ।