दाङ । उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेकी छन्।
दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभा निर्वाचित भएकी थिइन् । एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दावी गरेको थियो।
अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो।
वलीले माओवादी केन्द्र रोजेसँगै आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको योजनाअनुसार उनी एक दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने सम्भावना टरेको छ।
६ जना सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभामा ८१ जना सदस्य छन्। तीमध्ये ४१ जना एमालेका सांसद भएकाले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउने बताएका थिए।
वलीले माओवादी रोजेसँगै प्रदेश सभामा अब पोखरेलको बहुमत पुग्दैन।