Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

इन्टरनेट खपत बढ्यो

इन्टरनेट खपत बढ्यो

दैनिकी न्यूज

२५, बैशाख २०७८
इन्टरनेट खपत बढ्यो
images

काठमाडौं । गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ ।

भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।

घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उनले बताए ।


उनका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ । निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औसतमा छ सय जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले त्यस्तो खपत दिउँसो नै नौ सय जीबीपीएससम्म पुगेको पराजुलीले जानकारी दिए ।

पिक आवरमै भने एक टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ः०० बजेदेखि राति १०ः०० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ ।

सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ । सरकारले वैशाख १६ गतेयता काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ ।

यसबाहेक देशका विभिन्न जिल्लामा पनि निषेधाज्ञा जारी भइरहेको छ । कोरोना सङ्क्रमणको गति बढिरहँदा निषेधाज्ञा बढ्न सक्ने सम्भावनाका आधारमा इन्टरनेटको खपत पनि त्यहीअनुसार बढ्ने देखिन्छ ।

अनलाइनबाटै पढाइ तथा कार्यालयका काम, गेमिङ तथा भिडियो कन्टेन्टको प्रयोग बढ्दा ब्यान्डविथ खपत पनि त्यसैअनुसार बढेको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - ०७:४२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology