काठमाडौं । नेकपा एमालेका नेता तथा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको हो।
उनलाई कोरोना संक्रमण भएपछि बैशाख २१ गते स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। तर हिजोदेखि स्वास्थ्यमा समस्या देखिएको र अक्सिजन कमी भएपछी आइसियुमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआइ चौलागाईंको मंगलबार राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रदेश सभामा दोलखाबाट निर्वाचित भएका चौलागाईं यसअघि दोलखाबाटै प्रतिनिधि सभामा समेत निर्वाचित सांसद हुन्। एमालेका पोलिटब्युरो सदस्य चौलागाईं एमाले युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका थिए। पटक पटक जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका चौलागाईं अत्यन्त क्रियाशील र लोकप्रिय नेता हुन्। उनको निधनको खबर आएसँगै शंकर पोखरेल, योगेश भट्टराई, प्रकाश ज्वाला, विशाल भट्टराई लगायतका एमालेका नेताहरुले सामाजिक सञ्जालमार्फत् उनीप्रति श्रद्धाञ्जलि दिएका छन् ।