काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको दाबी गरे । 'हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ', उनले भने, 'सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।' उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए । 'जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ', प्रधानमन्त्री ओलीले भने । अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे । कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए ।