काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।
भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
अब निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। तर सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ । त्यसका साथै मानिसहरुलाई हिँडडुल गर्न पनि रोक लगाइएको छ भने मर्निङ वाक र इभिनिङ वाकमा पनि रोक लगाइएको छ ।
केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।
सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो। पछि उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो।
देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा कोरोना संक्रमण दर भने घटन् सकेको छैन।