Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कानुन व्यवसायीलाई खोप उपलब्ध गराउन डिएलएको माग

कानुन व्यवसायीलाई खोप उपलब्ध गराउन डिएलएको माग

दैनिकी न्यूज

२४, जेठ २०७८
कानुन व्यवसायीलाई खोप उपलब्ध गराउन डिएलएको माग
images

काठमाडौं । महामारीका बेलामा पनि कानुन व्यवसायीहरुले संविधान र कानुनको रक्षार्थ अग्रपंक्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानुन व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन ९डिएलए०ले माग गरेको छ।

कानुन व्यवसायी तथा पूर्वकानुन मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानुन व्यवसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो। डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानुपर्ने भएकाले कानुन व्यवसायीहरुलाई संक्रमणको खतरा बढिरहेकोतर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो।

गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानुन व्यवसायीले पहिलो खोप लगाउने मौका पाए पनि दोस्रो खोप लगाउनुपर्ने म्याद सकिँदै लाग्दासमेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो खोप लगाइसक्नु पर्ने भएकोले पहिलो खोप लगाएको समयावधि यही २०७८ साल जेठ १५ गते समाप्त हुने हुँदा यथाशीघ्र दोस्रो खोप उपलब्ध गराउन आग्रह गर्दछौं।’

आफ्नो पेशाप्रति कटिबद्ध भई कार्य गर्दै आएका कानुन व्यवसायीको अवस्थालाई हृदयङ्गम गरी कुनै पनि खोप नलिएका देशभरका सम्पूर्ण कानुन व्यवसायीलाई समेत पहिलो तथा दोस्रो खोप पहिलो प्राथमिकतामा राखी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको महासचिव दाहालले बताइन्।

डिएलएको मागलाई मन्त्री तामाङले सकारात्मकरूपमा लिएर जतिसक्दो चाँडो त्यसको व्यवस्था गर्ने आश्वासन दिएको उनले बताइन्। ‘हाम्रो मागप्रति मन्त्री तामाङ अत्यन्त सकारात्मक देखिनुभएको छ,’ उनले भनिन्, ‘उहाँ आफू पनि कानुन व्यवसायी भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर चाँडै नै खोप पाउने अग्रसूचीमा पार्नुहुने छ भन्ने हामीलाई विश्वास लागेको छ।’ रासस

images
प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - १०:२३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology