Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एक मात्रा लगाए हुने खोप ल्याइँदै

एक मात्रा लगाए हुने खोप ल्याइँदै

दैनिकी न्यूज

२३, आषाढ २०७८
एक मात्रा लगाए हुने खोप ल्याइँदै
images

काठमाडौं । कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो ।

जोन्सनको ‘जेन्सेन एडी२६।सिओभी।२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

‘एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक सातापछि थाहा हुन्छ ।’ कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । ‘यो खोप अमेरिकी सरकारले कोभाक्सलाई दिने र कोभाक्सको कोटाअन्तर्गत हामीकहाँ आउने हो,’ उनले भने ।

जेन्सेन खोप ०।५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०।५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - ०७:०६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology