Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

दैनिकी न्यूज

८, श्रावण २०७८
कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी
images

काठमाडौं । काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।

विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ । यस्तै, २ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शैया र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ ।

यस्तै, दैनिक २ हजार ५ सय ३१ जना संक्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो एक हप्तालाई आधारमान्दा दैनिक २ हजार ५ सय ३१ संक्रमित थपिने गरेका हुन् । एक हप्ताको अवधिमा १७ हजार ७ सय १७ संक्रमित थपिएका हुन् । गत शुक्रबार २ हजार ९ सय ३६, शनिबार १ हजार ८ सय ७५, आइतबार १ हजार ८ सय १, सोमबार २ हजार ४ सय ४५, मंगलबार ३ हजार १ सय ८, बुधबार २ हजार ८ सय ३८ संक्रमित थपिएका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०७:२३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology