Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कहाँबाट कति खोप आयो, कति आउन बाँकी

कहाँबाट कति खोप आयो, कति आउन बाँकी

दैनिकी न्यूज

१४, श्रावण २०७८
कहाँबाट कति खोप आयो, कति आउन बाँकी
images

शरद शर्मा/काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गर्नुभयो । यस्तै माथिका दुई उदाहरणले खोपमा सरकारको प्राथमिकता कति रहेछ भन्ने कुरा पुष्टि हुन्छ । अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ ।

अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप प्राप्त भएको थियो । सरकारले आफैं खरीद गर, विभिन्न मुलुकले अनुदानमा र कोभ्याक्स कार्यक्रममार्फत खोप ल्याएको छ । सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।

कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ ।

तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरीद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ ।

आउन बाँकी
यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

उहाँले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । चालू आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १९:०९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology