काठमाडौं । उच्च अदालत र जिल्ला अदालतहरूमा मंसिरदेखि गोलाप्रथाद्वारा पेशी तोकिने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै त्यसका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई आवश्यक तयारी गर्न भनिएको जानकारी गराएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गएको वर्ष न्यायापालिकामा हुने विकृति विसंगति अनियमिता भ्रष्टाचार र बिचौलियाको चलखेल रोकथामका उपाय पत्ता लगाउन भन्दै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एउटा समिति गठन गरेका थिए।
सोही समितिले जिल्लामा सुरूदेखि अन्तिमसम्म एउटै न्यायाधीशलाई मुद्दा तोक्ने प्रणाली, उच्च र सर्वोच्च अदालतसम्मको पेशी व्यवस्थापनलाई फेर्न सुझाएको थियो। अदालतहरूलाई स्वचालित पेशी सूची प्रणालीमा लैजान र त्यस्तो व्यवस्था नहुन्जेल गोलाप्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएको थियो।
त्यही सुझाव अनुसार उच्च अदालत र जिल्ला अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने तयारी थालेको प्रवक्ता दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्।