काठमाडौं । भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाको खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुगेको हो ।
भुटानले दिएको उक्त एस्ट्राजेनेका खोप ज्येष्ठ नागरिकलाई दिइनेछ। भारतीय खोप कोभिसिल्डको पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिएकाहरु ४ महिनादेखि दोस्रो डोज लाउनबाट बञ्चित भएका छन्।
भुटानले दिएको खोप कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई दिइनेछ। उता जापानदेखि पनि एस्ट्राजेनेकाको करिब १६ लाख डोज खोप शनिबार आइ पुग्दैछ।
भुटानले सबै नागरिकलाई खोप लगाइसकेको छ। त्यसक्रममा बाँकी रहेकामध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई उपहार दिएको हो।
भारतबाट किनेको १० लाख डोज खोप नआएपछि पहिलो डोज लगाएकाहरुलाई समस्या भएको छ। भुटान र जापानबाट आउने खोप कोभिशिल्डको पहिलो डोज लगाउनेलाई दोस्रो डोजका रुपमा दिइनेछ।