काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० मा पुष्टि भएको थियो । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाबाट एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो ।
कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाको निधन भएको थियो । त्यसयता ६९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । अक्सिजनको हाहाकार, आईसियू बेडको अभावले पनि दोस्रो लहरमा धेरै जनाले ज्यान गुमाउन पुगेका छन् ।
त्यसैगरी कोरोनाको पहिलो लहरबाट ३८ जना बालबालिकाको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।
कोरोनाबाट बढी ज्यान गुमाउनेमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरु रहेका छन् । शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने ६० माथिका ज्यान गुमाउने ५ हजार ३८७ रहेका छन् । ०–९ वर्ष सम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३०४ जना, ३० देखि ३९ का ८२८ जना, ४० देखि ४९ का १४३७ जना , ५० देखि ५९ का १९६१ जना र अज्ञात ७ जना रहेका छन् ।