काठमाडौं । जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो ।
जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप लिएर कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जापानबाट आज ३ लाखभन्दा बढी डोज खोप नेपाल आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
जापानबाट भोलि (आइतबार) थप ५ लाख डोज खोप नेपाल आउने छ। बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।
कोरोनाविरुद्ध पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय सरकारले गरेको छ। गएको फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।