काठमाडौं । सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब स्थापना गर्ने भएको छ । आइतबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कोभिड–१९ बाट उपन्न महाविपत्तिबाट मुक्ति पाउन ल्याब स्थापना गर्ने प्रस्ताव छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले कोरोना नियन्त्रणमा खटिएका फ्रन्टलाईनरलाई जोखिम भत्ता समेत नदिएको बेला निकै महत्वाकांक्षी लक्ष्य राखेको हो । साझा कार्यक्रममा आगामी असोज महिनासम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै उपचारका खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता र आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने उल्लेख छ । कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारमा प्राथमिकता दिने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्ने र दोषी देखिएका व्यक्ति/संस्था उपर कानुनी कारबाही गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।