काठमाडौं । सरकारले परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको हो । परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले प्रवेश पत्र देखाएपछि खोप लगाउन पाउनेछन् उनीहरुलाई अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिने बताइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ६० हजार विद्यार्थीलाई खोप दिने निर्णय गरेको जानकारी दिए । कहिलेदेखि खोप दिने निर्णय भने जिल्लाहरुले मिलाउने छन् । काठमाडौंका ४ ठाउँमा खोप केन्द्र तोकिएको छ । सैनिक अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी सत्संग केन्द्रमा गएर खोप लगाउन पाइनेछ । मंगलबार पहिला खोप त्यसपछि परीक्षा भन्दै पद्मकन्या क्याम्पस अगाडि विद्यार्थीहरुले नाराबाजी गरेका थिए । जसमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै पाटन क्याम्पसमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । केही दिनअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ५ वटा विद्यार्थी संगठनले देशभरका विद्यार्थीलाई नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसेकाका कारण कोरोना संक्रमण जोखिम बढेको बताउँदै सम्पूर्ण विद्यार्थीहरुलाई खोप दिनको लागि माग गरेको थियो । कोरोना संक्रमण बढ्दै गएको भन्दै यसअघि सरकारले साउन ३१ मा हुने कक्षा १२ को परीक्षा स्थगित गरिसकेको छ । त्रिविले भने यसअघि नै तय भइसकेका भदौ ५ गतेसम्मका परीक्षा यथावत राख्ने भन्दै सञ्चालन गर्ने निर्णय गरेको छ । हाल भने भौतिक रुपमै त्रिविका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु सञ्चालन भइरहेका छन् ।