काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेस गरेको छ। माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका थिए। बहुमत ४२ सांसदको हस्ताक्षर बुझाइएको गठबन्धनका नेताहरूले बताएका छन्।
केसीका पक्षमा माओवादी केन्द्रका १९, कांग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन्।
दलहरुको दाबीसहितको पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले समयसिमाभित्र अरुको दाबी आउने नआउने हेर्ने र मुख्यमन्त्रीको दाबीमाथि अध्ययन गरी नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।
कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना मुख्यमन्त्री बन्ने सहमति भएको छ। जसअनुसार आगामी फागुन १ गतेसम्म माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने छन् भने फागुन २ गतेदेखि बाँकी कार्यकाल कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति दुई दलबीच भएको छ।
एमालेकातर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बुधबार सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्ने समय तोकिएको छ । एमाले भने सरकारको दाबी पेस गर्ने पक्षमा छैन ।
गठबन्धनले आजै मुख्यमन्त्रीको नियुक्ति शपथसहित ४ जनाको मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्री सहित माओवादी केन्द्रबाट २, नेपाली कांग्रेस र जनता समाजवादीबाट एक एक जना सहभागी हुने गठबन्धनको तयारी छ ।