Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काभ्रेमा चार महिनामा १३७ कोरोना संक्रमितको मृत्यु, १० हजार सङ्क्रमित

काभ्रेमा चार महिनामा १३७ कोरोना संक्रमितको मृत्यु, १० हजार सङ्क्रमित

दैनिकी न्यूज

२, भाद्र २०७८
काभ्रेमा चार महिनामा १३७ कोरोना संक्रमितको मृत्यु, १० हजार सङ्क्रमित
images

काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता काभ्रेमा चार महिनाको अवधिमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा १० हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।

गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका ३४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को तथ्याङ्क छ । गत असार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो ।

हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका सङ्क्रमित हुन् भने १० हजारभन्दा बढी सङ्क्रमणको दोस्रो लहर सुरु भएयताका हुन् ।

हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि सङ्क्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

हाल दैनिक सङ्क्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पहिलोपटक २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । ुसङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो,ु केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने ।

उनका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रेसिङुमा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । रासस

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - ०९:३७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology