काठमाडौं । चीनबाट थप भेरोसिल खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको ४४ लाख मात्राको खोप शुक्रबार दिउँसो चीनबाट नेपाल आइपुगेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार खोप नेपाल आइपुगेको छ । सो खोप हिमाली १० जिल्लाको १८ वर्ष माथिका सबैलाई लगाइने बताए । त्यहाँ पटकपटक खोप लैजान गाह्रो हुन्छ, जाडो मौसम आयो,' दाहालले भने,' जनसंख्या पनि कम छ । त्यसैले सबैलाई लगाउने योजना छ ।’ काठमाडौं उपत्यकाको ७ वटा जिल्लामा ४० वर्ष माथिका लागि लगाउने, ५५ वटा जिल्लामा ४५ वर्ष माथि र अन्य दुई जिल्लामा ३५ वर्ष माथिकालाई खोप लगाउने लगाउने बताए । 'साथै मनाङ, मुस्ताङ र पूर्वी रुकुममा चाहिँ फुल कभर गर भनेर भनेर निर्देशन दिएका छौँ', उनले भने । विभिन्न उमेर समूहका कोही खोप लगाउनबाट छुटेका छन् उनीहरुलाई पनि खोप लगाइने उनले बताए । हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप नेपालमा आइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक हेर्दा देशभरि ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।