काठमाडौँ । काठमाडौँ जिल्लामा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।
भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शुक्रबार सूचना जारी गर्दै निदेशनालयले काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइने जनाएको छ। वडाभित्र खोप केन्द्र तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९, शंकरापुर नगरपालिकाको ९,र कागेश्वरी मनोहरा नगरपालिकाको ९ स्थानमा खोप केन्द्र तोकिएको छ।
कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइँदैछ भने चन्द्रागिरि नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १० , तार्केश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइन्छ।
यस्तै, काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतिगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ।