Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेकपा एसमा नेता मिलाउन सकस, सबैलाई पद

नेकपा एसमा नेता मिलाउन सकस, सबैलाई पद

दैनिकी न्यूज

८, आश्विन २०७८
नेकपा एसमा नेता मिलाउन सकस, सबैलाई पद
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी र पार्टी संरचना जम्बो बनाएको छ। नेता व्यवस्थापन गर्न ७ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ४ सचिव चयन गरेको छ।

केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले पदाधिकारी र पार्टी संरचनाबारे निर्णय गरेको हो। पार्टीको केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ। नेता व्यवस्थापनमा हम्मे–हम्मे परेपछि पार्टीमा नयाँ ‘नेता’ पदसमेत सिर्जना गरिएको छ। उक्त पद मुकुन्द न्यौपानेलाई दिइएको छ।

महासचिव बेदुराम भुसाल बनेका छन् भने उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेशकुमार हमाललाई चयन गरिएको छ। पुराना नेता घनेन्द्र बस्नेत र केदार न्यौपाने पनि उपाध्यक्ष चयन भएका छन्। सचिवमा बस्न नमानेपछि केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाइएको छ। सुरुमा ४ उपाध्यक्ष राख्ने तयारी थियो। तर, आकांक्षी धेरै भएपछि उपाध्यक्ष नै सात जना बनाइएका छन्। उपमहासचिवमा डा। विजय पौडेल, डा। गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्।

यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र राजेन्द्र राई चयन भएका छन्। सचिवमा प्रस्ताव गरिएका श्रेष्ठलाई उपाध्यक्षमा बढुवा गरियो भने राई पछि थप भएका थिए। पदाधिकारी चयनमै असन्तुष्टि व्यक्त भएपछि धेरै पद थप गरिएका थिए। वरिष्ठ नेतामा झलनाथ खनाललाई चयन गरिएको छ। तेस्रो वरियतामा ‘नेता’ न्यौपानेलाई राखिएको छ। पार्टीमा १८ जना पदाधिकारीको व्यवस्था गरिएको छ। स्थायी कमिटी ३१ सदस्य बनाइएको छ। पोलिटब्युरो ७१ सदस्यीय र केन्द्रीय कमिटी सदस्य ९पूर्ण र वैकल्पिक गरी० जम्मा ३ सय १ सदस्यीय गठन गरिएको छ।

बैठकले सातै प्रदेश तथा जिल्लामा इन्चार्जहरूको जिम्मेवारीसमेत तोकेको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। पार्टीका सम्पूर्ण तह तथा कमिटीमा महिला र युवाको एक तिहाइ सहभागिता गराउने निर्णय बैठकले गरेको छ। प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी ७ सय १ सदस्यीय केन्द्रीय परिषद् हुनेछ। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - ०६:५२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology