Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काभ्रेमा खोप लगाउँदै गरेका स्वास्थ्यकर्मीमाथि कुटपिट

काभ्रेमा खोप लगाउँदै गरेका स्वास्थ्यकर्मीमाथि कुटपिट

दैनिकी न्यूज

१५, आश्विन २०७८
काभ्रेमा खोप लगाउँदै गरेका स्वास्थ्यकर्मीमाथि कुटपिट
images

काभ्रेपलाञ्चोक । काभ्रेको दोलालघाटमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।

काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरिएको हो।

भुम्लु गाउँपालिकाका अनुसार स्थानीय अनिल पोटेले स्वास्थ्यकर्मी मण्डलमाथि कुटपिट र गालीगलौज गरेका थिए। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पोटेलाई कारवाहीको मागसमेत गरेको छ।

पोटेले स्वास्थ्यकर्मी मण्डललाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाले बिहीबार जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको छ। साथै स्वास्थ्यकर्मी मण्डलले समेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक–पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन दिएका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने वडा सदस्य मनोज श्रेष्ठलाई समेत कारबाहीको माग गरिएको छ। श्रेष्ठले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले बताए।

‘वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आउनुभएको थियो’, उनले भने, ‘त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिनुभयो, स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।’ रासस

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ०८:०७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology