काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू कुनै पनि हालतमा पद नछोड्ने बताएका छन् । बिहीबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफूलाई संविधानको विधि प्रक्रियाबाट हटाउन चुनौती दिएका हुन् । जबराले आफू विधिबाट आएकाले विधिको सामाना गर्न तयार रहेको प्रष्ट पारे ।
‘म संवैधानिक विधि र प्रक्रियाबाट नियुक्त भएको पदाधिकारी हुँ । विधिअनुसार जान्छु । संसदीय प्रणाली र विधि र प्रणालीलाई सामना गर्न तयार छु । निरर्थक असत्य कुरालाई साथ दिन्न । न्यायापालिकालाई कमजोर बनाएर जाने कुरा मलाई स्वीकार छैन’, प्रधानन्यायाधीश जबराले भने । उनले आफू कसैको निगाहाबाट नियुक्त नभएकाले सडकमा प्रश्न उठ्दैमा नहट्ने बताए । ‘कसैको विचार र कुराबाट राजीनामा दिने छैन’, उनले भने । उनले सरकारमा मन्त्रीका लागि आफूले भाग नलिएको बताए । उनले संवैधानिक निकायमा कुनै पनि आफ्नो व्यक्ति नियुक्ति नभएको दाबी गरेका छन् । मन्त्री नियुक्तिको सन्दर्भमा प्रचण्ड, माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य कसैको संलग्नता भएको छैन भनेको प्रसंग उल्लेख गरे । ‘राष्ट्रका यी व्यक्तिले भनेका कुरामा अविश्वास गर्नु त राज्यलाई असफल बनाउने र न्यायपालिकालाई असफल बनाउने प्रयास हो’, उनले भने । उनले कुनै पनि पार्टीले आफूप्रति महाभियोगको प्रस्ताव ल्याउने आफूले कल्पना पनि नगर्ने बताए ।