Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना बीमाः आधाभन्दा बढीको भुक्तानी हुन बाँकी

कोरोना बीमाः आधाभन्दा बढीको भुक्तानी हुन बाँकी

दैनिकी न्यूज

१३, कार्तिक २०७८
कोरोना बीमाः आधाभन्दा बढीको भुक्तानी हुन बाँकी
images

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीमा समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै कति दिन लाग्ने हो रु अन्यौल नै रहेको बताए ।

अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम १० अर्बको हाराहारीमा रहेको अधिकारीले बताए । प्रिमियमबाट उठेको साढे तीन अर्ब रुपियाँ भुक्तानी गरिसकिएको र केही रकम बीमा कम्पनीले पनि भुक्तानी गरेकाले अब बाँकी भुक्तानी १० अर्बको हाराहारीमा रहेको उनले बताए ।
यसमा सरकार, बीमा समिति ,पुर्नबीमा कम्पनीलगायतको दायित्व छ । हालसम्म एक लाख ४५ हजार जनाको बीमा दाबी परेको छ । तीमध्ये आधाभन्दा बढीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

बीमा समितिले रकम निकासाका लागि अर्थमन्त्राललाई तीन पटकसम्म लिखित पत्र काटेको र मौखिक रुपमा अर्थमन्त्रीलाई जानकारी गराए पनि अहिलेसम्म मन्त्रालयबाट कुनै औपचारीक जवाफ नआएको अधिकारीले बताए ।

यता अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने बीमा समितिलाई आफूहरुले बीमा भुक्तानी सम्बन्धी ढाँचा तयार गर्न आग्रह गरेको बताएका छन । उक्त ढाँचा उपलब्ध भएपछि मात्र कोरोना बीमाको भुक्तानीका बारेमा छलफल अघि बढ्ने उनले बताए ।

यहि असार मसान्तबाट कोरोना बीमाको अवधि सकिएकाले मसान्तपछि सङ्क्रमित भएका बिमितहरुले भने दाबी बीमा बापतको रकम नपाउने बीमा समितिले जनाएको छ ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरूले दाबी भुक्तानी गर्ने व्यवस्था गरिँदै आएको थियो ।

बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बिमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको छ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

कोरोना बीमा कार्यविधिअनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको थियो । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमाशुल्क रहेको थियो । परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँका लागि तीन सय रुपियाँ शुल्क लाग्थ्यो ।

बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था थियो । समाचार आजको गोरखापत्र दैनिकमा विष्णु पाण्डेयले लेखेका छन ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - ०७:१९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology