Logo

बुधवार, श्रावण २७ गते २०८३

images

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

दैनिकी न्यूज

२२, कार्तिक २०७८
देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल
images

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए।

देउवाको भनाइ सार्वजनिक भएलगत्तै दाहालले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरे। उनले एमसिसी मुख्यालयलाई पत्र पठाएको सत्य भए पनि पास गर्ने भन्ने कुराचाहिँ सत्य नभएको बताए। दाहालले एमसिसी परियोजनाबारे नेपालमा विवाद भएका कारण प्रमुख दलहरूबीच सहमति बनिनसकेको भन्दै पत्रमा अरु छलफलका लागि समय थप गर्न आग्रह गरिएको दाबी गरे।‘एमसिसी पास गर्ने विषयमा पत्र पठाएका होइनौं। म्याद थप गर्नका लागि मात्रै पत्र पठाएका हौं,’उनले भने।

प्रधानमन्त्री देउवाले कोप–२६सम्मेलनका अवसरमा एमसिसीका उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटवार्ता गरेका थिए। देउवाले उनलाई गठबन्धनका सहयात्री दलहरूसँग एमसिसीका विषयमा छलफल भइरहेको जानकारी गराएका थिए।

देउवाका अनुसार भेटमा ल्याटोर्तुले संसद् किन तत्कालै बन्द गरेको भनेर पनि सोधेका थिए। ‘हामी गठबन्धनका दलबीच सहमति बनेपछि पत्रकार सम्मेलन गरेर एमसिसी पास गराउने विषयमा जानकारी दिनेछौं। संसद् अन्य कारणले नै बन्द गरेका हौं।अध्यादेश ल्याउनुपर्ने कारणले रोकेका हौं। मैले उनीहरूलाई जानकारी गराएँ,’विमानस्थलमा पत्रकार सम्मेलनमा देउवाले भनेका थिए।

एमसिसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसिसीलाई पत्र पठाएको विषय अहिलेसम्म गोप्य राखिएको थियो। सरकारले तिहारअघि संसद् अधिवेशन बन्द गरेलगत्तै एमसिसी मुख्यालयले असन्तुष्टिसहितको विज्ञप्ति जारी गरेको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - ०७:१५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology