काठमाडौँ । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कको ब्याजदर अधिकतम बिन्दु १०।०५ प्रतिशतमा पुगेको छ । मङ्सिरका लागि ब्याजदर प्रकाशित गरेका वाणिज्य बैङ्कको नयाँ ब्याजदर मिल्दोजुल्दो देखिएको छ ।
ब्याजदर निर्धारण गर्नुअगावै राष्ट्र बैङ्कले ब्याजदर निर्धारणमा नयाँ सर्कुलर जारी गरेपछि धेरै बैङ्कको निक्षेप ब्याजदर १०.०५ प्रतिशतमा अडिएको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र मेगा बैङ्कको भने मुद्दती निक्षेपको ब्याजदर एकल अङ्कमा रहेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम ९.११ प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत र मेगा बैङ्कको ९.९६ प्रतिशत रहेको छ ।
लक्ष्मी, सिद्धार्थ, प्राइम कमर्सियल, एनएमबी, कुमारी, हिमालयन, सेन्चुरी, माछापुच्छे«, सिभिल, सानिमा, कृषि विकास, सनराइज, ग्लोबल आईएमई, नेपाल, प्रभु, नेपाल बङ्गलादेश ९एनबी०, नेपाल एसबीआई बैङ्कको मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १०.०५ प्रतिशत छ ।
बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने गरी नेपाल राष्ट्र बैङ्कले तीन दिनअघि व्यवस्था गरिसकेको छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको हो । बैङ्क तथा वित्तीय संस्थाले मङ्सिरदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला ब्याजदरबारे राष्ट्र बैङ्कको नयाँ निर्देशन आएको थियो ।
नयाँ निर्देशनअनुसार इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर कल निक्षेपबाहेकको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।
ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दर समायोजन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका छन् ।