काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउँदै दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए । 'कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला,' उनले भने ।
मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए । उनले भने, 'खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।' नेकपा (एकीकृत समाजवादी) का सचिव समेत रहेका मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गरे । 'एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ ।' । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उनको भनाइ थियो । खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा निकै ठुलो हुने दाबी पनि गरे । 'म नेकपा (एकीकृत समाजवादी) यति नै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठुलो पार्टी बन्नेछ, तपाईहरू ढुक्कसँग लाग्नुस् । तपाईहरूलाई हामी निराश हुन दिने छैनौँ,' उनले थपे ।'