काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा–सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ ।
यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्न भनेको छ।
साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।
सूचनामा सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि स्थानमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने, साथमा राख्ने र सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेशको अनुमतिको व्यवस्था गर्न भनिएको छ।
यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ ।

