काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।
मंगलबार राति १२ बजेदेखि प्रशासनले अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।
प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्न भनेको छ।