Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

दैनिकी न्यूज

२८, पौष २०७८
कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट
images

काठमाडौं । पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा। झाले बताइन्।

छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड १९ संयोजक डा। निरज बमले भने।

उनका अनुसार पुसको १५–१६ गते कोभिडको बिरामी भर्नादर शून्य रहेकोमा अहिले गत २४ घण्टामा करिब एक दर्जन बिरामी भर्ना भएका छन्। डेल्टा र ओमिक्रोन दुवैले खोप नलिएका र विशेष गरी वृद्धवृद्धामा निमोनिया बनाउन सक्ने डा। बमले बताए। वीर अस्पतालका फिजिसियन डा। ध्रुव गैरेले कोभिड संक्रमण भई आउने बिरामीमा सामान्य रुघाखोकी र ज्वरो देखिएको बताए। धेरैजसो बिरामी एक डोजमात्र भए पनि खोप लगाइसकेका भएकाले उनीहरूमा समस्या जटिल नबनेको उनको विश्लेषण छ।

नेपालमा ओमिक्रोनसँगै डेल्टा भेरिएन्ट फैलिरहेको भए पनि धेरैजसोले खोप लिएको र कतिपयमा पहिल्यै संक्रमित भएर शरीरमा एन्टिबडी बनेकाले गम्भीर लक्षण नदेखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा। शेरबहादुर पुनले बताए। ‘अस्पतालमा संक्रमित भएर आउनेहरूमा सामान्य रुघाखोखी र जिउ दुख्ने समस्या देखिन्छ। डेल्टा भएर पनि शरीरमा एन्टिबडीका कारण गम्भीर लक्षण नभएको हुन सक्छ’, उनले भने। थप जिन सिक्वेन्सिङको अध्ययनबाट मात्र तथ्य पत्ता लगाउन सकिने पुनले बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार एक साता पहिलासम्म १० प्रतिशत संक्रमणदर रहेकोमा अहिले ४० प्रतिशत बढीमा संक्रमण पुष्टि भएको छ। ३५ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ५ जनाको आइसियुमा उपचार भइरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - ०७:०८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology