Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नयाँ–पुराना दुवै ऋणमा ब्याज फेरि बढ्यो

नयाँ–पुराना दुवै ऋणमा ब्याज फेरि बढ्यो

दैनिकी न्यूज

१२, माघ २०७८
नयाँ–पुराना दुवै ऋणमा ब्याज फेरि बढ्यो
images

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत असोजको तुलनामा पुसमा वाणिज्य बैंकहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ । यही अनुपातमा वाणिज्य बैंकहरूको कर्जाको (नयाँ–पुराना दुवै) ब्याजदर बढेको बैंकहरूले बताएका छन् । सबै बैंकले समान अनुपातले ब्याजदर भने बढाएका छैनन् ।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकको लागत बढेको छ । यसका आधारमा कर्जाको ब्याजदर बढ्नु स्वाभाविक हो,’ उनले भने ।

यस अवधिमा बैंकको कोषको लागत करिब एक प्रतिशत बढेको छ भने कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्पेड) घटेको छ । ‘यस अवधिमा बैंकहरूको सञ्चालन आम्दानी करिब १० प्रतिशत मात्र बढेको छ,’ उपाध्यायले थपे, ‘यसका आधारमा बैंकहरूको नाफा धेरै भन्न मिल्दैन ।’

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । गत पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.४० प्रतिशत छ । गत असोजमा यस्तो दर ७.५३ प्रतिशत थियो । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस्तो दर १.२० प्रतिशत बिन्दुले बढेको देखिन्छ । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ०८:००:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology