Logo

बुधवार, श्रावण २७ गते २०८३

images

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

दैनिकी न्यूज

४, फाल्गुण २०७८
एमसिसी संसद्मा टेबुल गर्ने तयारी
images

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्।

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसिसीलाई राख्न भनेका छन्।


प्रधानमन्त्री एवं कांग्रेस सभापति रहेका देउवाले संसदीय दलको बैठक स्थलबाटै सभामुख सापकोटालाई फोन गरेका थिए। यस विषयमा सहमति जुटाउन सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए। तर सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित भएन।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार भएको छलफलमा एमसिसीलाई सदनमा टेबुल गर्ने सहमति भएकोे छ। टेबुल गरेपछि कसरी अगाडि बढाउने भन्नेबारे विभिन्न विकल्पमा छलफल भए नि टुंगो भने नलागेको स्रोतले बताएको छ। कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले पनि एमसिसीलाई सदनमा पेस गर्न सरकारलाई आग्रह गरेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०६:४७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology