काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा नेपालले विजयी सुरुआत गरेको छ ।
अल अमेरात क्रिकेट मैदानमा शुक्रबार ओमानलाई ३९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् ।
ओमानलाई १७ ओभरमा अलआउट गर्न नेपाली बलरहरुले शानदार प्रदर्शन गरे । नेपालका लागि कमलसिंह ऐरी ३ ओभरमा १५ दिँदै ३ विकेट लिए ।
जितेन्द्र मुखियाले ३ ओभर बलिङ गर्दै ९ रन दिएर एक विकेट लिए । सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान दुई दुई विकेट लिए । यस्तै अविनाश बोहराले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।