काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए।
एमसीसीमा गठबन्धनको साथ नपाएपछि प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर छलफलमा रहेको थियो। हिजो पनि एमालेसँग कांग्रेसको छलफल चलिरहेको बेला माओवादी र समाजवादीको आकस्मिक बैठक बसेको थियो। सो बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
बैठकबाट बाहिरिँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने पार्टीको संस्थागत निर्णय गर्न बालुवाटारबाट निस्किएका छन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ कृष्णप्रसाद सिटौला‚ महामन्त्री गगनकुमार थापा‚ उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।