Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लेखा परिक्षण मर्यादित र व्यवसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा

लेखा परिक्षण मर्यादित र व्यवसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा

दैनिकी न्यूज

२०, बैशाख २०७९
लेखा परिक्षण मर्यादित र व्यवसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा
images

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परिक्षक बिमुख हुन नहुने धारणा राखेका हुन् ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परिक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परिक्षकहरुलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । ‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरु (लेखा परिक्षक) ले ख्याल राख्नुहोला’ उनले भने ।

लेखा परिक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनले बताए । ‘निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखा परिक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ’ उनले भने, ‘लेखा परिक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

उनले बित्तीय अनुशाशन कायम गर्न/गराउन लेखा परिक्षकको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखा परिक्षण कुनै र्सस्था वा कम्पनीको हिसाब किताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए । उनले गरिबी अन्त्यका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताए । ‘बषौंदेखी बहुआयामिक गरिबी किन भइरहेको छ । यसको अडिट गर्नुप¥यो । जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो की’ उहाँले भन्नुभयो, ‘अब गरिबीको सही ढङ्गले अडिट गरियो भने हामी सुधार गर्न सक्छौं ।’

उनले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ती, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताए । ‘अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ’ उनले भने । मुलुकलाई आत्मनिर्भर बनाउने गरी मुलुक भित्रको स्रोत साधनको अधिकतम उपयोग गर्ने बेलासमेत आएको उनले बताए ।

कार्यक्रममा आइक्यानको अध्यक्ष सिए युद्धराज ओलीले लेखा व्यवसायी सम्मेलन पहिलो पटक आयोजना भएको बताए । २ दिनसम्म चल्ने सम्मेलनबाट रााष्ट्रिय अर्थतन्त्रका बिषयमा गम्भिर रुपले चिन्तन हुने उनले जानकारी दिए ।



images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १५:५०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology