Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनतासँग निकट छु, त्यसैले मेरो जित निश्चित छः रेणुका चौंलागाई

जनतासँग निकट छु, त्यसैले मेरो जित निश्चित छः रेणुका चौंलागाई

दैनिकी न्यूज

२५, बैशाख २०७९
जनतासँग निकट छु, त्यसैले मेरो जित निश्चित छः रेणुका चौंलागाई
images

काभ्रे । माओवादी जनयुद्ध सुरु भएदेखि नै संगठनमा आवद्ध रेणुका चौलागाई चांैरी देउराली गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुनुहुन्छ । वि.सं. २०३५ सालमा काभ्रे जिल्लाको कात्तिके देउराली–६ मा जन्मिुनु भएकी चांैलागाई सानैदेखि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । परिवर्तनको चाहना राख्ने उहाँ अन्याय, अत्याचार, शोषण र दमनका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसैको परिणाम अपरिपक्व उमेर १६ वर्षमै उहाँले जनवादी विवाह गर्नुभयो ।

छोरी मान्छे राजनीतिमा लागेको खबरले परिवारमा उहाँको विवाह गरिदिने चर्चा चल्न थालेपछि राजनीतिक पृष्ठभूमि भएको परिवार चौरीदेउराली गाउँपालिका–५ पोखरी चौरीका नविन गौतमसँग उहाँले विवाह गर्नुभयो । २०५२ सालमा माओवादी जनयुद्ध सुरु हुनु र त्यहीताका उहाँले पनि जनवादी विवाह गर्नुले तत्कालिन समाजमा निकै तहल्का मच्चियो । सिन्दुर, पोते, चुरा धागोको सट्टा उहाँले अविर लगाएर दियो बाली हात मिलाएर विवाह गर्नु तत्कालिन समाजमा निकै ठूलो चुनौती थियो । जुन उहाँले गर्नुभयो । त्यसपछि समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आयो, प्रहरीका लागि उहाँ मुख्य तारो बन्नुभयो । माओवादी र प्रहरीबीच कतै भिडन्त हुँदा प्रहरीले उहाँलाई नै शंका गर्ने, सोधपुछ गर्ने, नौ कक्षाकी बालिकालाई बाटो छेकेर, विद्यालयमै पुगेर, घरमै पुगेर प्रहरीले सोधपुछ गथ्र्याे । विस्तारै पढ्ने वातावरण हराउँदै गयो ।

स्थानीय स्कुलमा अध्ययनरत रहँदा उहाँ तत्कालिन एकताकेन्द्रको विद्यार्थी संगठनमा आवद्ध हुनुहुन्थ्यो । विद्यालयमा उहाँ (चौलागाई) मात्रै राजनीतिमा आवद्ध हुनुहुन्थ्यो । राजनीतिमा लागेको खबरले कोही छक्क पर्थे, कोही कुरा काट्थे ।

प्रहरीको पटक पटकको धरपकडका कारण श्रीमान गौतम र उहाँका दाजु यान प्रसाद गौतम पनि भूमिगत हुनुभयो । पछि २०५६ सालमा तत्कालिन सरकार पक्षले पक्राउ गरी उहाँका श्रीमानलाई वेपत्ता बनायो ।

माइतीघर नजिकैको स्कुलमा पढ्न अप्ठेरो भएपछि घर नजिकैको स्कुलमा भर्ना भई पढ्न थाल्नुभयो । त्यहाँ पनि प्रहरीले उहाँलाई मानसिक यातना दिन छोडेन ।

२०५३ सालमा पहिलो पटक उहाँ प्रहरीको कब्जामा पर्नुभयो । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीले उहाँलाई पक्राउ गरी एक हप्तासम्म यातना दियो । डोरीले बाँधेर कुट्ने गरेको याद उहाँको मानसपटलमा अझै छ । प्रहरीको यातनाले कैयन दिन भित्र बाहिर गर्न समेत गाह्रो भएको थियो उहाँलाई ।

प्रहरी अत्याचारका कारण गाउँमा १० वर्ष माथिका पुरुषहरु देखिन छोडे । घरगृहस्ती, मेलापात, पर्म सबै महिलाहरुले नै गर्न थाले । अन्य पुरुष सरह चौलागाईप्रति प्रहरीले निगरानी बढायो ।

विद्यार्थी संगठनबाट महिला संगठनमा आवद्ध उहाँ ०५३ मा महिला संगठनको कोषाध्यक्ष हुनुहुन्थ्यो । पछि ०५४ सालदेखि पार्टीको पूर्णकालिन सदस्य भएर जनयुद्धमा होमिनुभयो ।

जनयुद्धकै दौरान २०५८ सालमा पुस १४ गते उहाँ पुनः पक्राउ पर्नुभयो । सँगै रहेका दुई जनालाई प्रहरीले हत्या ग¥यो । उहाँलाई पक्राउ गरी पाँचखाल चौकी ल्याइयो । १६ दिनपछि काठमाडौंको छाउनी व्यारेकमा एकहप्ता, हनुमान ढोकामा एक महिना हुँदै सेन्टर जेलमा २ वर्षसम्म राखियो । २०६० सालमा उहाँ रिहा हुनुभयो । त्यसपछि पुनः पार्टीकै काममा क्रियाशिल चौलागाई २०६४ मा समानुपातिक तर्फबाट संविधानसभा सभासद् बन्नुभएको थियो ।

जनयुद्धकालदेखि निरन्तर पार्टीमा सक्रिय चौलागाई हाल नेकपा माओवादी केन्द्रकै तर्फबाट चौरी देउराली गाउँपालिकाको अध्यक्षका उमेदवार हुनुहुन्छ । प्रेस सेन्टर नेपालको न्युज बैंकका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंश:

तपाई एजेण्डाहरु केके छन् ?
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका राजधानी काठमाडौबाट नजिक भएपनि यो विकट क्षेत्र नै मानिन्छ । डाँडापारि र कोशीपारि भनेपछि कर्णाली सरह नै मानिन्छ । त्यसैले यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी तथा जनताका आर्थिक आयआर्जनका कुराहरु पूरा गर्नेछौं । यस पालिकालाई समुन्नत र राम्रो बनाउने चाहना छ । यहाँका मानिसहरुलाई कुनै पनि आधारभुत तथा भौतिक कुराहरुको अभाव नहोस् भन्ने हाम्रो उद्देश्य हो ।

तपाईका जितका आधारहरु केके हुन् ?
जनयुद्ध सुरु भएदेखि अहिलेसम्म म यो पार्टीमा निरन्तर क्रियाशिल छु । मुलुकमा आएको यो परिवर्तन ल्याउनका निम्ति मेरो अहम् भूमिका छ । अझ भनौं मेरो जीवनको पूर्ण लगानी यहीँ छ । त्यस्तै यही परिवर्तनका निम्ति मेरो परिवारले गरेको त्याग÷तपस्या र बलिदान महत्वपूर्ण छ । यो परिवर्तनका निम्ति मैले मेरो ५ जना पारिवारिक सदस्य गुमाएकी छु । दाजु कमल प्रसाद चौलागाई, आमाजु बिन्दा चौलागाई र जेठाजु सहिद हुनुहुन्छ भने मेरो श्रीमान नविन गौतम र अर्की आमाजु कमला चौलागाई शर्मा अझै वेपत्ता हुनुहुन्छ । अहिलेसम्म जनताको सेवक बनेर काम गरिरहेको छु । जनतासँग निकट छु । त्यसैले मेरो जीत निश्चित छ ।

तपाईप्रति जनता कत्तिको सन्तुष्ट हुनुहन्छ ?
यहाँका जनताले मलाई नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । म महिला, हिजोका दिनमा पनि महिला मुक्तिका लागि थुप्रै लडाई लड्यौँ । महिलाले पनि बोल्न पाउनुपर्छ, आफ्नो अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा होमियौं । महिलाहरुलाई समग्रमा दोस्रो दर्जाको नागरिकको हैसियत प्रदान गरिरहँदा त्यस्ता महिलाहरुको नेतृत्व गर्नुपर्छ भनेर हिजो पनि लडें, अहिले पनि महिलाहरुलाई माथि उठाउनुपर्छ, महिलाहरुलाई सत्तामा सहभागी गराइराखेको हाम्रै कारण हो । ति कुराहरु जनताले बुझ्नु भएको छ । त्यस्तै म सहिद परिवार पनि । म यही समाजमा छु, यही छु । यहाँको जनताको सुख, दुःख र अप्ठारोमा लागिपरेको छु । त्यसैले पनि यहाँले जनताले मलाई नै नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । समग्रमा उहाँहरु मेरो कामप्रति सन्तुष्ट हुनुहुन्छ ।

यस पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ?
यस पालिकामा भ्रष्टाचार देखिएको छैन । अन्यत्रको तुलनामा भ्रष्टाचारको मामिलामा खोट छैन । अन्य पालिका र जिल्लाबाट आउनेहरुले पनि सुन्दर छ चौरी देउराली, विकासमा पारदर्शी छ भन्ने प्रतिक्रिया दिनुभएको छ । यसलाई हामी भोलिका दिनमा पनि निरन्तरता दिनेछौं ।

images
प्रकाशित मिति :बैशाख २५, २०७९ आइतवार - २०:३६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology