Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चुनावी तयारी पूरा, दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन

चुनावी तयारी पूरा, दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन

दैनिकी न्यूज

२८, बैशाख २०७९
चुनावी तयारी पूरा, दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन
images

काठमाडौं । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी पारिएको जानकारी दिए । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ ।

सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ ।

त्यस्तै, अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ । थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महत्वपूर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ । विकट पहाडी जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्रीसहित टोली पठाइएको प्रवक्ता पोखरेलले बताए ।

निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमाण्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टरसहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार सेना निर्वाचन सुरक्षामा खटिइसकेको छ ।

सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ । अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सशस्त्रलाई मतदान अवधिभर खटाइएको छ । यस पटक पनि शान्त, स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैमा सहयोगका लागि आग्रह गरेको छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०६:४९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology